पाहाँच:ह्रे

पाहाँच:ह्रे

पाहाँच:ह्रे

 पाहाँच:ह्रे ।।

चाडपर्वमा निकै धनी उपत्यकाका नेवार जातिले प्राचीन कालदेखि नै पाहाँचह्रे पर्व मनाउँदै आएका छन्। पाहाँचरे चैत कृष्ण चतुर्दशीको दिन उपत्यकाका सम्पूर्ण नेवार जातिले भब्य रूपमा मनाउने गरिन्छ।

यस पाहाँचह्रेको शाब्दिक अर्थ नेपाल भाषामा ‘पाहाँ’ ले पाहुना र ‘चःह्रे’ ले चतुदर्शी भन्ने बुझाउँछ।
नेवा: संस्कृतिमा पाहुनाको ठूलो स्थान छ। पाहुनालाई देउता मानेर श्रद्धापूर्वक स्वागत सत्कार गरिन्छ। यसकारण, आफ्ना नातेदार, चेलीबेटी, साथी भाइ, इष्टमित्र आदिलाई निम्तो गरेर पाहाँचह्रेमा भोज खुवाउने चलन छ।
जाडो सकिएर गर्मी सुरु हुने बेलामा मनाइने यस पाहाँचह्रेमा बतास, वर्षा र अनेक थरीका रोगबाट बच्ने उपायको खोजी गरिन्छ। त्यसै स्वरूप पाहाँचह्रेका दिन काठमाडौंका टोलटोलमा रहेका गणेश, देवीदेवताहरुलाई कुखुरा, हाँस र बोका बलि दिईन्छ। यो दिन टोलटोलमा देउताका खट घुमाएर जात्रा पनि गरिने भएकाले ज्यादै रमाइलो हुन्छ। टोलटोलमा रहेका लुकु माद्यः (लुकेको महादेव)को पूजा पनि यस दिन गरिन्छ। लुकुमाद्यःलाई विशेष गरेर लसुन, भटमास, माछा, छोयला, चिउरा, समयबजी र जाँडरक्सी चढाइन्छ। यस दिन चोक चोकमा धुनी पनि बालिन्छ। यो धुनी बाल्नुको पनि एउटा कारण छ। यस धुनीबाट निस्केको धुवाँले भुत,प्रेत,पिशास सबैलाई भगाउँछ भन्ने मान्यता पनि रहिआएको पाईन्छ। यस पाहाँच:ह्रे पर्वसंग सम्बन्धित एउटा घतलाग्दो किंवदन्ती जोडिएको छ, किंवदन्ती अनुसार अष्टमातृका दिदी बहिनीहरूमध्ये धेरै सन्तान भएकी लुँति अजिमा (इन्द्रायणी) पनि पाहाँचह्रेको भोज खान झुत्रा लुगा लगाएर माइती गइछन्। माइतीले उनलाई राम्रा लुगा–गहना लगाएर आएका अन्य दिदीबहिनीसँग बसेर खान दिएनछन्। भोक लागेको बेला भोज देखेपछि लुँति अजिमाका बच्चाहरूले ‘भोक लाग्यो, भोक लाग्यो’ भन्दै कराइरहँदा कसैले वास्ता गरेनछन्। यसपछि उनी बच्चाहरूलाई लिएर घर फर्किंदै थिइन्, बाटोमा एउटा फर्सी भेटिछिन्। उनले त्यसलाई घर लगिन र उसिनेर बच्चाहरूलाई खुवाउन फर्सी काटेर हेर्दा त उक्त फर्सी भित्र सुनै सुनले भरिएको पाउँछे। उनी यही सुनका कारण धनी भइछिन्। लुँति अजिमा अर्कोपटक भने चिटिक्क परेर गरगहना लगाई माइती जाँदा अति नै मानसम्मान गरेर उनलाई भोज खुवाइएछ। तर, लुँति अजिमाको पालो खान दिएको भोज जथाभावी गहना–लुगामा दल्न थालिछिन्। यो देखेर अजिमाका सबै दिदी बहिनीले भनेछन्, ‘यो के गरेको ?’


उनले जवाफ दिइछन्, ‘जब म गरिब, खान नपाएको अवस्थामा भोजमा आएको थिएँ, त्यतिबेला मलाई भोकै फर्काइयो, आज म सुखी र सम्पन्न छु, मान सम्मानसहित आज मलाई भनेर खाना ल्याइयो तर यो खाना मेरा लागि होइन रहेछ, लुगा र गहनाका लागि रहेछ।’
लुँति अजिमाले यसरी माइतीले आफ्नै सन्तान बिच पनि भेदभाव गरेको सहन नसकी पाहाँचह्रे सदाको लागि बहिष्कार गरिन्। यसकारण लुँति अजिमा (इन्द्रयणी)को जात्रा पाहाँचह्रेको दिनमा मनाउँदैन, बालाँ चतुर्दशीका दिन मात्र हुने गरिन्छ।
यो किंवदन्ती अनुसार हामीले के बुझ्नु पर्छ भने दुःख पाएका आफन्त वा कोही कसैलाइ पनि हेला गर्नुहुँदैन। धनीलाई गरिने व्यवहार र गरिबलाई गर्ने व्यवहारमा फरक हुनु हुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने ज्ञान यस पाहाँचह्रे पर्व मार्फत पाइन्छ।

पशुपति आर्यघाट जाने बाटो छेउ बागमती नदि अवस्थित बत्सलेश्वोरि माईको मन्दिर छ। यो बत्सलेश्वोरि माई बच्छलेश्वरि, बछला अजिमा नामबाट प्रचलित यो शक्ति पिठ पाशुपत् क्षेत्रको महत्वपूर्ण शक्ति पिठहरु मध्ये एक पर्दछ। यस शक्ति पिठको दक्षिण ढोका बाहिर आकाश भैरवको सानो मन्दिर पनि छ। यस बत्सलेश्वोरि माईलाई काठमाडौं उपत्यकामा अवस्थित लुँमधी अजिमा, कंग अजिमा, लुँति अजिमा, म्हेपी अजिमा, मैती अजिमा, नक्साल अजिमा लगायत अन्य अष्टमातृका अजिमा देविहरुको जेठि दिदिको रुपमा पुज्ने गरिन्छ।बत्सलेश्वोरि माईलाई आराध्यदेव भगवान शिवको पत्नी अर्थात् जगत माता पार्वतीको रूपमा पनि पुजिआएको पाईन्छ। बर्सेनि पाहाँचह्रेको दिन यस मन्दिरमा आचाजुहरुद्वारा बिशेष तान्त्रिक बिधिपुर्वक् पुजा हुने गर्दछ। यस दिन यहाँको स्थानीय खत गुठीका सदस्यहरु लगायत अन्य श्रद्धालुहरु सबै जम्मा भएर बिधिपुर्वक् पुजा गर्नको लागि चाहिने सम्पूर्ण सरसामान जुटाई टोलमा भएको सबै बाजाँगाजा बजाई राँगो बलि दिई भब्य रूपमा पुजा गर्ने चलन रहिआएको छ।


बर्सेनि पाहाँच:ह्रेको भोलिपल्टको दिन अर्थात् औशीको बेलुकी देखी तिन दिनसम्म यस बत्सलेश्वोरि माईको पशुपति क्षेत्रमा भब्य जात्रा हुने गर्दछ। यस जात्राको दोस्रो दिन (मूल जात्राको दिन) उपत्यका का अन्य अजिमाहरुको जात्रा यहाँ नल्याएता पनि नक्साल भगवती माईको जात्रा भने त्यस दिन राती यहाँको बत्सलेश्वोरि माईसंग दर्शन भेटको लागि आउने गरिन्छ। त्यस दिन नक्साल भगवती माईको जात्रा सिफल हुँदै जयबागेश्वोरी , पशुपतिनाथको मन्दिरको ढोकामा ढोक गरि पुनः जयबागेश्वोरी हुँदै जयबागेश्वोरी डबलीमा विश्राम गरिरहनु भएकी बत्सलेश्वोरि माईको खतलाई तीन पटक परिक्रमा गरि ढोक गरे पश्चात् मात्र फर्किने चलन रहिआएको छ।
किपाः तथा जानकारी : Subhash Man Sangat



0 Response to "पाहाँच:ह्रे"

Post a Comment

Thank you !!
Share with others

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel